काठमाडौं । नेपाल विद्यार्थी संघले भूकम्प प्रभावित जाजरकोटमा विद्यालय भवन पुनर्निर्माण गरेर हस्तान्तरण गरेको छ । भेरी त्रिवेणी माविमा ६ कोठे अस्थायी भवन निर्माण गरेर हस्तान्तरण गरेको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए ।
कात्तिक १७ गते गएको विनाशकारी भूकम्पमा परेर ३९८ वटा विद्यालयमा क्षति पुगेको थियो । ५० हजार बढी विद्यार्थीको पढाई प्रभावित भइरहेका बेला नेविसंघले अस्थायी भवन निर्माण गरेर हस्तान्तरण गरेको जनाएको छ ।
नेविसंघका अध्यक्ष दुजाङ्ग शेर्पाका अनुसार दुईवटा विद्यालय पूर्णरुपमा निर्माण गर्ने प्रतिवद्धता जनाइएकाले एक हस्तान्तरण गरिएको हो । उनले नै आज विद्यालय भवन हस्तान्तरण गरेका हुन् । विद्यालय भवनमा क्षति पुगेपछि विद्यार्थीहरु चौरमा अध्ययन गर्न बाध्य भएका थिए ।