हनुमानले विश्वभरबाट दुई सय करोडभन्दा बढी कमायो

  • प्रकाशित मिति : January 22, 2024
  • नयाँ सवाल

नयाँ दिल्ली । तेज सज्जा स्टार फिल्म ‘हनुमान’ले गएको १० दिनदेखि बक्स अफिसमा धमाकेदार कमाइ गरिरहेको छ । फिल्मले दोस्रो सप्ताहन्तमा पनि पहिलोको जत्तिकै कमाई गरेको छ । पहिलो सप्ताहन्तमा फिल्मले ४१ करोड ५९ लाख भारु कमाएको थियो । दोस्रो सप्ताहन्तमा फिल्मको कमाई ४१ करोड २५ लाख भारु रह्यो ।

घरेलु बक्स अफिसमा फिल्म महेश बाबुजस्ता सुपरस्टारको फिल्म गुंटूर कारमभन्दा पनि अगाडि निस्किएको छ । कुनै सुपरस्टार नभएको सस्तो बजेटको फिल्मको लागि यो निकै ठूलो उपलब्धि हो ।

आइतबार गुंटूर कारमले ३ करोड ७५ लाख भारुको बिजनेस गरेको थियो । सोही दिन हनुमानको कमाई ५ गुणाभन्दा बढी अर्थात् १६ करोड ५० लाख भारु थियो । घरेलु बक्स अफिसमा हनुमानको कूल कमाई १३० करोड ६० लाख भारु पुग्दा गुंटूर कारमको कलेक्शन ११८ करोड भारु रहेको छ । आइतबार वल्र्डवाइड बक्स अफिसमा २३ करोड ८१ लाख भारु कमाएपछि फिल्मको टोटल कलेक्शन २०९ करोड भारु भएको छ । उत्तर अमेरिकाको बक्स अफिसमा ३२ करोड कमाएर फिल्म सबैभन्दा धेरै कमाउने पाँचौं टलिवूड फिल्मको रेकर्ड बनाएको छ ।