काठमाडौ । संसदीय छानबिनका लागि बनेको विशेष संसदीय समितिले सहकारी रकम हिनामिनामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ। छानबिन समितिले आइतबार बिहान सिंहदबारमा बोलाएर बयान लिएको हो।
आचार्यसँग जोडिएका विषयमा उनको बयान लिइएको छानबिन समितिकी सदस्य सांसद ईश्वरी न्यौपानेले जानकारी दिइन्। सहमहामन्त्री आचार्य बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा मुछिएका छन्। आचार्यका नाममा उक्त सहकारीबाट २०७८ पुस १२ गते एक करोड ५६ लाख १५ हजारको ऋण स्वीकृत भएको र सो रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा गएको देखिएको छ।
यता समितिले सरकारी ठगीमा मुछिएकाहरूसँग धमाधम बयान लिइरहेको छ। कारागारमा रहेकाहरूलाई समेत झिकाएर बयान चलिरहेको सांसद न्यौपानेले जानकारी दिइन्। यस्तै सरकारी ठगीमै जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई केहीदिनभित्रै बोलाएर बयान लिने समितिको तयारी छ।
लामिछानेलाई भदौ ६ वा ७ गतेसम्म बयानमा बोलाउने तयारी रहेको समितिकी सदस्य सांसद न्यौपानेले जानकारी दिइन्।