पाठेघरको बायोप्सी गर्न बेहोस बनाइएकी महिलाको मृत्यु

  • प्रकाशित मिति : August 21, 2024
  • नयाँ सवाल

चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ ।
अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

‘दिउँसो २ बजे भर्ना गरेर एनेस्थेसिया दिइयो। त्यसपछि कोल्टो फर्काएर राखियो । दुरबिनमार्फत काम सुरु गर्नमात्रै थालिएको थियो बिरामीको मृत्यु भएछ,’ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले भने, ‘कसरी त्यस्तो भयो भनेर बुझिरहेका छौं ।’ काफ्लेको राति १० बजे मृत्यु भएको थियो ।

डा. पौडेलले बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुनसक्ने बताए ।

काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।