आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्ने त्रिविको निर्णय

  • प्रकाशित मिति : August 22, 2024
  • नयाँ सवाल

काठमाडौँ । त्रिभवन विश्वविद्यालयमा अध्यापनरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्त गर्ने निर्णय गरेको छ । साउन २३ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आंशिक शिक्षकहरूलाई करार सेवाका शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

त्रिविका ६२ वटै आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा कार्यरत स्थायी, अस्थायी र करार प्राध्यापकहरूले पूर्ण कक्षाभार लिई बाँकी रहेको कक्षाभारलाई आधारमानी त्रिविको स्वीकृति रिक्त दरबन्दीमा करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले प्राडा रामकृष्ण तिवारीको संयोजकत्वमा वार्ता तथा राय सुझाव समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा आंशिक प्राध्यापक सङ्घ केन्द्रीय सङ्घर्ष समिति र वार्ता तथा राय सुझाव समितिबिच २०८१ साउन १५ गते समझदारी भएको थियो ।सोही समझदारी अनुसार आंशिक प्राध्यापकहरूलाई करार सेवाको शिक्षण सहायक पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।

त्यसका लागि तीन सदस्यीय स्थलगत अध्ययन कार्य टोली गठन गर्ने निर्णय गरिएको छ । सो टोलीको पेस गरेको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षण सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस/केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको हो ।त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय प्रमुख एमान सिंह बोहराले त्रिविको नियम कानून अनुसार नै नियुक्ति प्रक्रिया अगाडि बढाइने बताए ।