काठमाडौं । बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।
यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ । गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।
बोर्डका निर्देशक टीकाराम ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्युदरमा यस वर्ष पनि कमी नआएको बताउँछन् । ‘रोजगारीमा खोजीमा गएका श्रमिकले परदेशमा ज्यान गुमाउनु परिरहेको अवस्था फेरिएको छैन । यो वर्ष पनि मृत्युदरमा कमी आएन’, उनी भन्छन् । निर्देशक ढकालका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेशिया र खाडी राष्ट्रहरुमा छन् । खाडीका राष्ट्रमा कतार, साउदी, यूएई, कुबेत, ओमनमा श्रमिकको मृत्युदर धेरै छ ।वितेको एक वर्षमा ७ लाख ४१ हजार विदेश गएका थिए । जसमा ६ लाख ६१ हजार पुरुष र ८० हजार महिला थिए । वार्षिक करिब ७ लाख नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् ।
परदेशमा दैनिक ४ जनाले गुमाउँछन् ज्यान
सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरुमध्ये औसतमा वार्षिक १ हजार जना र दैनिक ४ ले ज्यान गुमाउँछन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा बढोत्तरी भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।
तथ्यांकका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म ३ हजार ८८७ श्रमिकले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाए ।
ज्यान गुमाउनेमा अदक्ष श्रमिक धेरै
वैदेशिक रोजगारीमा हुने श्रमिकको मृत्युको कारण अदक्ष श्रमिक पनि मानिन्छ । नेपालबाट बर्सेनि ठूलो संख्यामा अदक्ष श्रमिकहरु विदेश जाँदा पनि मृत्युदर बढी रहेको वैदेशिक रोजगार मामलाका जानकारहरु बताउँछन् ।
गत आर्थिक वर्ष ०८०÷०८१ मा मात्र अदक्ष १ लाख ४५ हजार र सामान्य सीप सिकेका ५ लाख ३२ हजार गए । तर अर्धदक्ष ६० हजार, व्यवसायिक सीप सिकेका र उच्च दक्ष ७३२ जनामात्रै वैदेशिक रोजगारीमा गए । ‘वैदेशिक रोजगारीमा मृत्यु भएका हुन धेरै अदक्ष श्रमिक छन् । नेपाललले दक्ष श्रमिक पठाउन नथालेसम्म मृत्युदरमा कमी आउँदैन’, श्रम विज्ञ लुइँटेल भन्छन् ।
विदेशमा ज्यान गुमाए पनि श्रम स्वीकृति लिएर गएका श्रमिकका परिवारलेमात्र क्षतिपूर्ति पाउँछन् । श्रम स्वीकृति अवधिभित्र श्रमिकले ज्यान गुमाए बोर्डले ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ । बोर्डका अनुसार बितेको एक वर्षमा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई ६९ करोड ९९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ । श्रम विज्ञ डा. सोमप्रसाद लुईटेलले परदेशमा श्रमिकले अकालमै जीवन गुमाउनु परेको परिदृश्य नफेरिएको बताउँछन् । ‘भविष्यको खोजीमा गएका युवाहरुले परदेशमा सस्तो मृत्युवरण गरिरहेको कुरा साह्रै विडम्बना हो’, उनी भन्छन् ।
विज्ञ लुइटेलले वैदेशिक रोजगारीमा हुने मृत्युको दर घटाउन सकिने बताउँछन् । त्यसका लागि श्रमिकलाई विदेश जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने उनी बताउँछन् । ‘श्रम गन्तव्य मुलुक हुन सक्ने सम्भावित जोखिम र दुर्घटनाबारे पहिले नै श्रमिकलाई सचेतना दिन जरुरी छ’, उनी भन्छन्, ‘कार्यस्थलमा पालना गर्नुपर्ने सुरक्षाका मापदण्ड, सम्बन्धित देशको ट्राफिक नियम, सम्बन्धित देशको भाषा, नियम कानुनहरु सबै बुझाएरमात्र पठाउनु पर्छ ।’