सहरकाे रूपान्तरणमा महानगर प्रहरीले अग्रपङ्क्तिमा भूमिका निर्वाह गरेको छ : बालेन शाह

  • प्रकाशित मिति : August 31, 2024
  • नयाँ सवाल

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी व्यवस्थापन रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्क्ति भूमिका निर्वाह गरेको बताएका छन् ।

३२ औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका हुन् । उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले भने ।

प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा पनि प्रहरी बलले अग्रणी भूमिका खेलेको प्रमुख शाहको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सकियो भने आपसी सम्बन्धमा काम गर्न सकिने बताए ।

त्यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरले, नगर प्रहरीसँग स्रोत सीमित भए पनि आत्मविश्वास मजबुत भएको धारणा राखे ।

सबै विभाग, वडा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सबैसँगको सहकार्यमा काम गर्नु पर्ने प्रहरी समन्वय र सहजीकरणको भूमिका रहेको मानन्धरको भनाइ थियो ।

सुशासन समितिका संयोजक ख्यामराज तिवारीले कार्यक्रममा नगर प्रहरीको दिगो सङ्गठन संरचनाका लागि काम थाल्ने बेला भएको बताए । नगर प्रहरीले काठमाडौँ जागा भइरहन्छ भन्ने सन्देश दिएको र  गएको २ वर्षमा आफ्नो पहिचानलाई जनजनमा पुर्याएको तिवारीको भनाइ थियो ।

कार्यक्रममा महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, भएको ज्ञान, सिप र विवेकलाई कानुन नीति र आदेशको पालनामा पूर्ण प्रयोग गरिएको बताए ।

कार्यक्रममा नगर प्रहरी हवलदार उषा अधिकारीलाई नगद ३० हजार रुपैयाँसहित महानगर प्रहरी गौरव पुरस्कार प्रदान गरिएको छ । यस्तै नगर प्रहरी निरीक्षक श्यामप्रसाद तिमिल्सिनालाई २० हजार रुपैयाँसहित उत्कृष्ट महानगर प्रहरी पुरस्कार, नगर प्रहरी नायव निरीक्षक ईश्वरीप्रसाद दाहाल, नगर प्रहरी हवलदार विक्रम श्रेष्ठ र नगर प्रहरी हवलदार पूर्णबहादुर श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित महानगर प्रहरी पुरस्कार प्रदान गरिएको छ । यस्तै नगर प्रहरी निरीक्षक रवि गुरुङ र ईश्वरप्रसाद वाग्लेलाई एक ग्रेड वृद्धि गरिएको छ ।

नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । महानगरपालिकाले वि। सं। २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो । त्यस बेला नगर प्रहरी नायव उपरीक्षकको नेतृत्वमा विभिन्न तहमा २१९ प्रहरीको दरबन्दी थियो ।

नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रूपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी ग¥यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र सङ्गठित बनेको छ ।

महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ ।

नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा अहिले ४०८ जना जनशक्तिको संगठनले काम गरिरहेको छ । सङ्गठनमा ३ जना नगर प्रहरी उपरीक्षक, ४ जना नगर प्रहरी नायव उपरीक्षक, ३१ जना नगर प्रहरी निरीक्षक कार्यरत छन् ।  यस्तै ३१ जना नगर प्रहरी नायव निरीक्षक, २२ जना नगर प्रहरी सहायक निरीक्षक, ५६ जना नगर प्रहरी हवलदार,  र २६० जना नगर प्रहरी जवान छन् ।

गएको आर्थिक वर्ष २०८०-०८१ मा सहरी सुव्यवस्थाका लागि गरेका काममध्ये अनधिकृत रूपमा कब्जा गरेको  जग्गा फिर्ता गराउने, हरियाली प्रवर्धन गर्ने, अनधिकृत फोहर फाल्नेलाई कारबाही गर्ने, सरसफाइ र सुन्दरता वृद्धि गर्ने, विपद् व्यवस्थापनमा महसुस हुने काम गरेको छ । अनधिकृत विज्ञापन सामग्री र सार्वजनिक आवागमनमा असर पार्ने र सम्पदा क्षेत्रका सूचना पाटी, विज्ञापन वोर्ड तथा महानगरपालिकामा दर्ता नभएका २० हजार ४०४ वटा बोर्डहरु हटाएको छ । कालोपत्रे सडकमा भएको सवारी पार्किङलाई निषेध गरिएको छ । पार्किङ्को अनुमति लिई अन्य प्रयोजनमा ल्याइएको १ लाख ८० हजार ७५६ वर्ग फिट स्थानलाई पार्किङ प्रयोजनमा ल्याइएको छ ।

विपद् व्यवस्थापनअन्तर्गत ४२१ वटा आगलागी नियन्त्रण गरिएको छ । जोखिममा रहेका रुख र संरचना गरी ६५ ठाउँलाई जोखिममुक्त बनाइएको छ । चकुन्चालगायत नदीमा आएको बाढीबाट भएको कटान नियन्त्रण गरेर बस्ती बचाउने काम गरेको छ ।

नगर प्रहरीको सेवालाई नागरिकका नजिक पुर्‍याउने उद्देश्यले महानगरको भूगोललाई ४ क्षेत्रमा विभाजन गरेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएको छ । यसअन्तर्गत पूर्व क्षेत्र, पश्चिम क्षेत्र, उत्तर क्षेत्र र मध्य क्षेत्र पर्छन् ।  सेवालाई थप सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न टेकुको करिब ७ रोपनी जग्गामा केन्द्रीय कार्यालय निर्माण गर्ने प्रहरी बलको योजना छ ।