बाढीपहिरो प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतलाई व्यवस्थित गर्न कांग्रेसको आग्रह

  • प्रकाशित मिति : September 28, 2024
  • नयाँ सवाल

काठमाडौँ    नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै विपद्‌ प्रभावित नागरिकको यथाशीघ्र उद्धार र राहतको व्यवस्था गर्न तथा भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ काम गर्न ध्यानाकर्षण गराएका छन्।

‘मानिसहरु बेपत्ता र घरबारविहीन भइ विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति कांग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ देउवाले भनेका छन् ।

सभापति देउवाले बाढीपहिरोमा परेर सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गरेका छन् । कांग्रेसले आफ्ना नेता कार्यकर्ताहरूलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिएका छन् ।