काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशैभरका विभिन्न सडक अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । आइतबार बिहानसम्म पृथ्वी राजमार्ग, कान्ति राजमार्ग बिपी राजमार्ग लगायतका राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार बागमती प्रदेशमा काठमाडौँसहित ३०, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ८ र कर्णालीमा १ स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । दसैँ नजिकिइसकेको अवस्थामा यी सडकहरू अब कसरी छिटो मर्मत गर्ने भन्नेबारे चिन्ता थपिएको छ । दसैँकै लागि भनेर शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ ।
यतिबेला यातायात व्यवसायीहरू टिकट बिक्री गर्ने कि रोक्ने विषयमा अन्यौलता रहेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘टिकट बुकिङ खुला गरेर टिकट काटिरहेका छौँ । यात्रुहरू झमझम पानीमा छाता ओढेर टिकट काटिरहनुभएको छ,’ सिटौलाले भने, ‘घटस्थापनादेखि हामीले टिकट बुकिन गरेका यात्रुलाई गन्तव्यमा पु-याउनुपर्छ । काटेको टिकटमा यात्रुलाई गन्तव्यमा पु-याउन सकिन्छ कि सकिँदैन भन्ने निश्चित नभएको अवस्थामा हामीले यात्रुलाई कन्भिन्स गर्ने ?’ सिटौलाकाअनुसार सरकारसँग २० बुँदे सहमति गरेर अग्रिम टिकट बुकिङ खुलाउँदा सहमतिको बुँदा नम्बर १ मै बाटोको अवस्थाबारे उल्लेख थियो ।
जसमा सरकारले सडकको खाल्डाखुल्डीसम्म पुर्ने उल्लेख भएपनि अहिले ठाउँ ठाउँमा गएको पहिरो क्लियर भएर गाडी छिर्नसक्ने अवस्था नै बन्छ कि बन्दैन भन्ने निश्चित नभएको उनी बताउँछन् । सडक विभागका सूचना अधिकारी अमित कुमार शर्माले अहिले अवरोध भएका राजमार्ग र सडक तत्काल खुलाउन नसकिने देखिएको र मन्त्रालयसँग छलफल गरी सडक खुलाउने बताए । ‘कतिपय स्थानमा पहिरो गएर सडक अवरोध भएको तत्काल खुलाउन सकिने अवस्था पनि छैन । अवरुद्ध सडक खुलाउने विषयमा आज मन्त्रालयमा छलफल गर्ने र योजना बनाएर सडक खुला गर्ने छौँ,’ शर्माले भने । अवरुद्ध राजमार्गहरु खुला गरी दसैँमा यात्रुहरुलाई गन्तव्यमा पु-याउन सहज हुने गरी काम अघि बढाउने प्रयास गर्ने बताए ।