चियापान र शुभकामना कार्यक्रम छाडेर राहत र उद्धारमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

  • प्रकाशित मिति : September 29, 2024
  • नयाँ सवाल

काठमाडौँ । नेकपा एमालेले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्व निर्धारित शुभकामना र चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ । आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले यस्तो निर्देशन दिएको एमाले विपद् व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईले जानकारी दिए ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेल समेत सहभागी बैठकले असोज १४ देखि १६ गतेसम्मलाई शुभकामना र चियापान जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको भट्टराईको भनाइ छ । त्यस्तै बाढी, पहिरो प्रभावित जिल्लाका नेता कार्यकर्ताहरूलाई सो अवधिमा विपदमा परेका नागरिकको राहत र उद्धारमा सक्रिय हुन निर्देशन दिएको छ । बैठकले वर्षाबाट उत्पन्न विषम परिस्थितिमा जनतामाथि परेको पीडामा सहयोगी बन्ने सरकार, राजनीतिक दल, विभिन्न संघसंस्थालाई धन्यवाद दिँदै बाढीबाट प्रभावित भएको केन्द्रीय कार्यालयको सरसफाइ पनि पार्टी कार्यकर्ताको सहयोगमा गर्ने निर्णय गरेको छ ।