दिल्लीमा पक्राउ परेका देवकुमार नेपालीलाई काठमाडौं ल्याइयो

  • प्रकाशित मिति : September 29, 2024
  • नयाँ सवाल

काठमाडौं। भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।

नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो भने १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो । पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन् । उनीहरुमाथि १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ ।