जनमत पार्टीले गैरआवासीय मधेसी संघको विभिन्न देशमा इन्चार्ज तोक्यो

  • प्रकाशित मिति : October 21, 2024
  • नयाँ सवाल

काठमाडौँ । जनमत पार्टीले गैरआवासीय मधेसी संघको विभिन्न देशमा इन्चार्ज तोकेको छ । कात्तिक ४ गते बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न देशका लागि इन्चार्ज तोकेको हो । अध्यक्ष डाक्टर सीके राउतको अध्यक्षतामा बसेको बैठकले संयुक्त अरब इमिरेट्स, मलेसिया, साउदी अरब लगायतका देशका लागि इन्चार्ज तोकेको हो । संयुक्त अरब इमिरेट्सका लागि सद्दाम अन्सारीलाई इन्चार्ज तोकेको छ । त्यस्तै मलेसियाका लागि कपलेश्वर यादव, साउदी अरबका लागि कासिन्द्र पासमान, कतारका लागि प्रमोद कुमार ठाकुर, कुवेतका लागि अरबिन्द साह, अमेरिका लागि अनिल यादव र अन्य सबै देशका लागि डाक्टर श्यामबाबु महतोलाई इन्चार्ज तोकेको हो ।

संघको प्रायः देशमा विवाद रहेकोले सम्पूर्ण समितिहरू भङ्ग गर्ने निर्णय गरेको छ । तत्कालका लागि हरेक देशका लागि इन्चार्ज तोक्ने र पछि मतदाता सूची अद्यावधिक भइसकेपछि सोही अनुसार नवीकरण गरेका सदस्यहरूमध्ये अधिवेशन गराएर समिति निर्माण गर्ने गरी तत्काललाई इन्चार्ज तोक्ने निर्णय गरेको हो । गैरआवासीय मधेसी संघको सदस्यता निश्चित गर्न, सदस्यता शुल्क र लेबी नियमित गर्न, अधिवेशनका लागि मतदाता सूची तय गर्नका लागि सङ्गठन विभागलाई जिम्मेवारी दिने निर्णय सचिवालयले बैठकले गरेको जनमतले जनाएको छ ।