काठमाडौँ। एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल साविक विजेता जापानसँग पराजित भएको छ। कतारको हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलको फराकिलो अन्तरले पराजित भएको हो।
खेलमा सबिनकुमार लुङगेली मगरले १२औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। नेपालका तर्फबाट अर्को गोल विज्ञान खड्काले गरेका छन्।
समूह ‘एफ’ मा रहेको नेपाल तथा जापानसँगै कतार र मंगोलिया छन्। नेपालले अब दोस्रो खेलमा भोलि शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।
समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन्। आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। १५ टोली यसै छनोट चरणबाट चयन हुनेछन्।