तिहारपछि खुलेको सेयर बजारमा कारोबार घट्यो

  • प्रकाशित मिति : November 5, 2024
  • नयाँ सवाल

काठमाडौं । तिहारपछि खुलेको सेयर बजार झिनो अंकमा रातो भएको छ । नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार ११ : ४७ बजे २६९६ अंकसम्म पुगे पनि त्यसपछि ओरालो लाग्यो । कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो । कुल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो । केही सेक्टर बढेका छन् भने केही घटेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशत बढ्यो ।

फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.८२, हाइड्रोपावर ०.७७, जीवन बीमा ०.३९ र अन्य समूह ०.२४ प्रतिशत बढे । बैंकिङ ०.८१, विकास बैंक ०.४८, लगानी ०.०४, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०७ र व्यापार समूह ०.७४ प्रतिशत घटे । सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.९, युनाइटेड मोदी हाइड्रोपावरको ९.५, गुराँस लघुवित्तको ९.३, रसुवागढी हाइड्रोपावरको ८.७ तथा सान्जेन जलविद्युतको ७.३ प्रतिशत मूल्य बढ्यो । मिडसोलु हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।