उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

  • प्रकाशित मिति : November 8, 2024
  • नयाँ सवाल

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो । यो सहकारीको ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला  कालोसूचीमा छिन् ।  सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । कोइराला सञ्चालक भएको बेला लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहित अन्य सञ्चालकलाई कालो सूचीमा राखेको छ । उनीमाथि भने प्रशासन मौन छ । मोरङकै माछापुछ्रे बचत तथा ऋण सहकारीको बचत अपचलनको मुद्दामा भने पूर्व सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा रहेकी कोइराला सहकारीको कामकाजका बारेमा जानकार थिइनन् । पोखरेलको सल्लाहमा रौनियारले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्ष रौनियारले फसाएको दाबी गर्दै आएका छन् । उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ । प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४  घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसैगरी सञ्चालक समितिका सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । प्रहरीले कागजात जफत गरेपछि सहकारीका अध्यक्ष रौनियारले प्रहरीले जबरजस्ती सामग्री जफत गरेको आरोप लगाएका छन् । तर प्रहरी प्रवक्ता जोशीले सञ्चालक समितिले असहयोग गरेपछि जनप्रतिनिधिको रोहबरमा ताला फोडेर सामग्री जफत गरेको बताए । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।