गाजा । रातभर इजरायलले गरेको हवाई आक्रमणमा धेरै मानिसको मृत्यु भएको उत्तरी गाजाका अस्पतालका अधिकारीहरूले बताएका छन् । गाजामा काम गरिरहेका उद्धार टोलीहरूले इजरायलले बेत लाहिया र गाजा शहरका कम्तीमा पाँचवटा भवनमा बमबारी गरेको र त्यसपछि खोजी कार्य जारी रहेको बताएका छन् ।
हमाससँग सम्बद्ध मिडिया हाउसहरूले दर्जनौं मानिसको मृत्यु भइसकेको र धेरै मानिस अझै पनि भग्नावशेषमा दबिएको बताएका छन् । यसरी पुरिनेमा महिला र बालबालिका पनि भएको बताइएको छ । इजरायली सेनाको तर्फबाट अहिलेसम्म यसबारे कुनै वक्तव्य आएको छैन । तर, हालैका दिनहरूमा इजरायलले उत्तरी गाजामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ । हमासलाई पुनः एकजुट हुनबाट रोक्न यी आक्रमणहरू गरिरहेको इजरायलको तर्क छ । यसअघि संयुक्त राष्ट्रसंघले पनि उत्तरी गाजाका धेरै भाग इजरायलको कब्जामा रहेको र विगत ४० दिनमा यहाँ मानवीय सहायता नपुगेको चेतावनी दिएको थियो ।