आज रविसँग काठमाडौंमा बयान लिने तयारी

  • प्रकाशित मिति : November 29, 2024
  • नयाँ सवाल

काठमाडौं । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि काठमाडौं ल्याइएका रास्वपा सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिइँदै छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा आजदेखि बयान लिने तयारी छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयान लिन उनलाई जहाजमार्फत् काठमाडौं ल्याइएको थियो ।

उनलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले सहकारीको रकम अपचलन गरेर ठगी गरेको मुद्दामा सरकारी वकिल कार्यालयमा बयान लिइने बताए । बयान सकिएपछि रविलाई पुनः कास्की नै पठाइने एसएसपी रजौरेले बताए । कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ।