काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता र मनपरीतन्त्र मौलाएको बताएका छन् । महाकाली–मेची अभियानअन्तर्गत शनिबार अछाममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार र तस्करी मौलाएको जिकिर गरे । सरकारले गुन्डागर्दी र अपराधीलाई संरक्षण गरिरहेको आरोप समेत उनले लगाए । अहिलेको अवस्थालाई परिवर्तन र देश विकास गर्न एमाले चाहिने उनको भनाइ छ । देशलाई अघि बढाउने कामको नेतृत्व एमालेबाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने उनले बताए ।
“म एमालेका नेता–कार्यकर्ताहरूलाई भन्न चाहन्छु– अहिले पनि अरू पार्टीमा अल्मलिएर रहेका साथीहरूलाई नेकपा (एमाले)मा आमन्त्रण गर्नूस् । एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ । बुझ्नुभएको छ । देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ । भ्रष्टाचार, तस्करी, मौलाएको छ,” उनले भने, “सरकारले गुन्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ । यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा (एमाले)बाहेक अरू कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन ।”
अध्यक्ष ओलीले एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए । उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गरे ।