काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले बालकुमारी र सर्लाहीमा प्रदर्शनका क्रममा सरकारद्वारा गोली हानेर हत्या गर्नु लज्जाजनक विषय भएको बताएका छन् ।
बुधबार गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सर्लाही र बालकुमारीमा प्रदर्शन गर्दा पनि सरकारबाट गोली हानी हत्या गरिएको घटनाको विरोध गरे । उनले वाक स्वतन्त्रताका लागि लड्नेहरुबाटै प्रदर्शन गर्दा र बोल्दा मार्ने कुरा लोकतन्त्रको पक्षमा नहुने बताए । उनले लोकतन्त्रमा बोल्ने र प्रदर्शन गर्ने सुविधा सबैलाई हुने बताए ।
उनले भने, ‘हामी अहिले पनि आफूलाई आन्दोलनकै अवस्थामा पाउँछौँ । बारम्बार हामी सोच्नका लागि बाध्य हुन्छौँ कि फेरि जेलमा बस्न, फेरि फाँसी पाउन, फेरि गोली चलाइरहेको छ । लाठी चार्ज भई नै रहेको छ । यहीँ काठमाडौंमै गोली चल्यो, सर्लाहीमा गोली चल्यो । हालैको कुरा हो । अहिलेसम्म प्रजातन्त्रमा, लोकतन्त्रमा मानिसहरुलाई बोल्ने हक हुँदैन, प्रदर्शन गर्नका लागि सुविधा हुँदैन । यो संविधानको संशोधन जुन गर्नुपर्छ भनिरहेका छौँ ।’ अध्यक्ष ठाकुरले जनसंख्याको आधारमा प्रदेश र स्थानीय सरकार बन्न नसकेको गुनासो गरे ।