युवा विश्वकपमा बंगलादेशविरुद्ध बदलाको लक्ष्यमा नेपाल 

  • प्रकाशित मिति : January 31, 2024
  • नयाँ सवाल

काठमाडौं । आईस सी यू–१९ विश्वकपको सुपर सिक्समा आज बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल सन् २०१६ को क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

यसअघि नेपालले सन् २०१६ को संस्करणमा बंगलादेशसँग क्वार्टरफाइनलमा हार व्यहोरेको थियो । उक्त खेलमा नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य बंगलादेशले चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।

बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।