फुङलिङ । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अकस्मात् बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन् ।
सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए । जिल्ला अस्पतालले उनलाई उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताए । पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इन्चार्जसमेत हुन् ।
उनी आज बिहान फिदिमबाट ताप्लेजुङ पुगेका हुन् । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो । तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशनलगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आउनुभएको अध्यक्ष थेबेले बताए ।