जैसवालको दोहोरो शतक र बुमराहको घातक बलिङ, भारत बलियो स्थितिमा

  • प्रकाशित मिति : February 3, 2024
  • नयाँ सवाल

विशाखापटनम । जसप्रित बुमराहले घातक बलिङ गर्दै ६ विकेट लिएपछि इंग्ल्याण्ड पहिलो इनिङ्समा मात्र २ सय ५३ रनमा सीमित बनेको छ । बुमराहले १५.५ ओभरमा ४५ रन खर्चेर ६ विकेट लिएका हुन् ।

दोस्रो दिनको खेल समाप्त हुँदा भारतले कुनै पनि विकेट नगुमाई २८ रन बनाएको छ । योसँगै भारतले १ सय ७१ रनको अग्रता बनाउन सफल भएको छ । इंग्ल्याण्डका लागि ज्याक क्रलीले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै कप्तान बेन स्टोक्सले ४७ रन बनाए भने जोनी बेयरस्टोले २५ तथा ओली पोपले २३ रन हिर्काए । भारतका लागि कुलदीप यादवले ३ तथा अक्षर पटेलले १ विकेट लिए ।

यसअघि ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालको शानदार दोहोरो शतकको मद्दतमा भारतले विशाखापट्टनम टेस्टको पहिलो इनिङ्समा ३९६ रन बनाएको थियो । जैसवालले सर्वाधिक २०९ रन बनाए । यो उनको करियरको पहिलो दोहोरो शतक हो । जैसवालले आफ्नो २ सय ७७ बलमा १८ चौका र ७ छक्का प्रहार गर्दै २०० रन पुरा गरे । उनले लगातार दुई बलमा पहिलो छक्का र चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए।

तर, दोहोरो शतक प्रहार गरेलगत्तै उनी २९० बलमा २०९ रन बनाएर आउट भए । छैटौँ टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो। आफ्नो छोटो करियरमा जैसवालले अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाएका छन् । हिजोको अविजित १७९ रनबाट शनिबार जैसवालले आफ्नो पारी विस्तार गरेका थिए । उनीसँगै आर अश्विन खेलिरहेका थिए । तर उनी २० रन बनाएर आउट भए । इंग्ल्यान्डका लागि एन्डरसन, शोएब बशीर र रेहान अहमदले ३–३ विकेट लिए ।