दुई महामन्त्रीका प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए बैठक

  • प्रकाशित मिति : August 26, 2024
  • नयाँ सवाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिवेदन माथि छलफल गर्न नेताहरुलाई डाकेका छन् । मंगलबार बिहान ११ बजे देउवाले आफ्नो निवास बुढानीलकण्ठमा छलफलका लागि बोलाएका हुन् । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई देउवाले डाकेको कांग्रेसका एक नेताले जानकारी गराएका छन् ।

दुई महामन्त्रीले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएको उनले जानकारी दिए । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेण्डाहरु माथि छलफल भइरहेको छ । गत फागुनमा भएको महासमिति बैठकले केन्द्रीय समितिले परिमार्जित सहित पारित गर्ने निर्णय गरेर प्रतिवेदनको निर्णय लिने अधिकार केन्द्रीय समितिलाई दिएको छ ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । ‘पार्टी संगठन र समर्थक-शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमत सहितको लोकप्रिय पार्टीको रूपमा स्थापित गर्नेछौं,’ थापाको प्रतिवेदनमा भनिएको छ ।

थापाको प्रस्तावमा गठबन्धनको विषय उल्लेख नभएपनि देउवा पक्षीय नेताहरुले चुनावी तालमेल रणनीतिक विषय भएकाले अहिले निर्णय गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ ।

प्रदेशमा ‘मुख्यमन्त्री दुईपटक, मन्त्री तीन र प्रदेशसभा सदस्य चार पटकभन्दा बढी हुन नपाउने महामन्त्रीको प्रस्ताव छ । ‘कांग्रेसले यो पद्धति अनुशरण आफूले गर्नेछ र संवैधानिक बन्दोबस्तका लागि प्रस्ताव गर्नेछ’ उनले प्रतिवेदनमा लेखेका छन् । शर्माले प्रतिवेदनमा उल्लेख गरेको पदावधिको देउवा पक्षका नेताहरुले विरोध गरेका छन् । २३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक १२ भदौमा सकिँदैछ । बैठकमा सभापति, उपसभापति र महामन्त्री गरी पाँच जना बोल्न बाँकी छन् ।