सांसद मोदीको माग– प्रचण्ड राम जस्तै शान्तिको जनक हो‚ नोबेल पुरस्कार दिनुपर्छ

  • प्रकाशित मिति : September 3, 2024
  • नयाँ सवाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले प्रचण्ड नेपालको लोकतान्त्रिक गणतन्त्र‚ समावेशी समानुपातिक व्यवस्थाका लागि भगवान् रामजस्तै लडेकाले राम सरह जनक भनिनुपर्ने पनि माग गरेका हुन् । ‘प्रचण्ड नागरिकको पक्षमा समावेशी, लोकतन्त्र र समानुपातिक व्यवस्थाका लागि लड्नुभयो ।

राम जस्तै उहाँलाई जनक भनिनु पर्छ‚’ उनले भने‚‘शान्तिको अथक प्रयास गर्नुभएकाले नोबेल पुरस्कार दिनुपर्छ ।’ उनले एमालेले माओवादी जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाए । साथै यो देशमा एकीकरणको समय पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा धेरै मानिस मरेको भन्दै उनले त्यो हत्या हो कि होइन जवाफ दिनुपर्ने धारणा राखे । सांसद मोदीले जनताको पक्षमा काम गरेका नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङलाई राज्यको सम्पत्ति उठाउँदा केही  राजनीतिक दलको संरक्षकहरूले हटाउन ठुलो दबाब दिएको बताए ।