इथानोलको मूल्य एक महिना भित्र तोक्छौँ : मन्त्री भण्डारी

  • प्रकाशित मिति : September 9, 2024
  • नयाँ सवाल

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा सरकार धेरै अघि बढिसकेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार काठमाडौँमा आयोजना गरेका ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रको वृहत् बहस’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको बताए । ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिना भित्र टुङ्ग्याउँछौँ’ मन्त्री भण्डारीले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको उनले बताए । इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए ।  पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने विषय पछिल्लो समय निकै चर्चामा छ । २०६० सालमा नै इथानोल उत्पादन र प्रयोगको नीति बने पनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिबद्धता जनाएको छ ।

कियान केमिकल विज्ञ दिनेश पौड्यालले पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने धारणा राखे ।  २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित भएको बताए । ‘इथानोलको उत्पादन सम्भावना के हो ?, नेपालमा यो उत्पादन गर्न सकिन्छ सकिँदै ? फेरि उत्पादन भएपनि बजारको माग धान्न सक्छ कि सक्दैन ?’ उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुने पौड्यालले बताए ।पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिने उदाहरण नेपाल आयाल निगमले प्रस्तुत गरेपछि पौड्याले त्यसको खण्डन गरे ।