काठमाडौं । एक लाखभन्दा बढी नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अन्तिम चरणमा पुर्याएको छ ।
पहिलो चरणको छानविन केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरिरहेको अवस्थामा अख्तियारले पनि छानविनलाई तीव्रता दिएको हो । अख्तियार स्रोतका अनुसार नक्कली लाइसेन्स वितरण प्रकरणमा मुछिएका करिब ३ सय ५० कर्मचारीमाथि अनुसन्धान भइरहेको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्ससम्बन्धी विवरण अख्तियारलाई दिएको छ । अख्तियारले विभागबाट पूरै कागजात र सूचना मागेर अनुसन्धान गरिरहेको छ ।
अख्तियारले पहिलो चरणमा देशभरका ४० मध्ये २७ कार्यालयका १ हजार १ सय ५० सेवाग्राहीको लाइसेन्स अनुसन्धान गरेको छ । ती लाइसेन्स जारी गर्ने ३ सय ९५ जना कर्मचारीको तीनपुस्ते विवरण विभागसँग मागेको छ । स्रोतका अनुसार अनुसन्धान गरिएका अधिकांश लाइसेन्स कि त कार्यालय समयपछि कि सुरुमा फेल भएकालाई केही समयभित्र उत्तीर्ण गराएर जारी गरिएका छन् । अख्तियारको पत्रपछि विभागले २७ वटै कार्यालयसँग कर्मचारीको तीनपुस्ते मागेको छ ।
यसरी तीनपुस्ते माग गरिएकाहरूमा अधिकांश माथिल्लो तहका कर्मचारी छन् । कतिपय त कार्यालय प्रमुख भएर काम गरिरहेका र अवकाश प्राप्त कर्मचारी पनि छन् । अख्तियारले बुटवल कार्यालयका ५ सय २०, नेपालगञ्जका २६, जुम्लाका ५५, एकान्तकुनाका १७ र इटहरी कार्यालयका ३१ वटा लाइसेन्सको नमुना लिएर सुरुवाती अनुसन्धान गरेको छ ।