ढुवानी नहुँदा गोदाममै थन्कियो उत्तरी गोरखाका लाखौं किलो स्याउ

  • प्रकाशित मिति : September 12, 2024
  • नयाँ सवाल

पोखरा । ढुवानी अभावका कारण उत्तरी गोरखाका किसानहरूले उत्पादन गरेका स्याउ बजार झार्न समस्या भएको छ । व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाको फार्ममा उत्पादन भएको करिब ५ लाख किलो स्याउ गोदाममै थन्किएको हो । कोभिडको समयमा प्रदेश सरकारको बिरुवामा ७० प्रतिशत अनुदान पाएका किसानहरूले उत्तरी गोरखामा धमाधम स्याउ खेती थालेका छन् । लामाले १२ हजार ५ सय बोट लगाएका थिए । सबै बोटबाट उत्पादन सुरु भएपनि बजारसम्म पुर्याउन नसकिएको बताए । ‘एउटै बोटमा ४५ किलोसम्म फलेको छ । सबै टिपेर गोदाममा राखेका छौँ,’ उनले भने, ‘काठमाडौँ लैजान पाए राम्रो आम्दानी हुन्थ्यो । ढुवानी समस्याले लैजान सकिएन ।’ अहिले पर्यटनको सिजन भएका कारण पर्यटक पुर्याउन गएको हेलिकोप्टर मार्फत काठमाडौँ लैजान पहल भइरहेको उनले सुनाए । ‘हिमाल चढ्न पर्यटक लिएर हेलिकोप्टर आउँछ । त्यसमै हालेर झारौँ भन्ने लागेको छ,’ उनले भने, ‘त्यसरी झार्न पनि महँगो पर्छ ।

तर के गर्नु बाध्यता छ ।’ खच्चडबाट झार्दा भने स्याउमा बढी क्षति हुने गरेको उनले सुनाए । चुमनुब्री गाउँपालिका वडा नम्बर ४ नामरुङमा उनको व्यावसायिक फार्म सञ्चालनमा छ । उच्च हिमाली क्षेत्रमा उत्पादन भएका कारण स्वादिलो र स्वास्थ्यका लागि पनि स्वास्थ्यकर रहेको उनको दाबी छ । अघिल्लो वर्ष लामाले प्रतिकिलो ४ सय ९० रुपैयाँ प्रतिकिलोसम्म काठमाडौँमा स्याउ बेचेका थिए । गाउँमै पनि पर्यटक र स्थानीयलाई २ सय ५० देखि ३ सय ५० सम्ममा बिक्री भएको थियो । अहिले उत्पादन पनि बढेको र विक्री पनि कम भएकोले २ सय ५० मै बेचेको लामा बताउँछन् । ‘पोहोर स्याउ बेचेर २ करोड भन्दा बढी कमाएँ । अहिले झन् धेरै आम्दानी हुन्थ्यो,’ अघि भन्छन्, ‘सरकारले ढुवानीमा सहयोग गरे किसानलाई मर्का पर्दैनथ्यो ।’ उनले मात्रै स्याउ खेतीमा ९ करोड हाराहारी लगानी गरेका छन् । ‘यहाँ स्याउको भविष्य र उत्पादन निकै राम्रो देखियो । म सफल पनि भएँ । समस्या ढुवानीको मात्रै हो,’ उनी भन्छन्, ‘पालिका र प्रदेश सरकारसँग पनि कुरा गरेको छ । हेरौँ सहयोग हुन्छ होला ।’

अहिले पोहोरभन्दा दोब्बर बढी स्याउ उत्पादन भएको उनको अनुमान छ । प्रदेश सरकारले मनाङ, मुस्ताङ र उत्तरी गोरखामा इटालीबाट आयात गरिएका उच्च घनत्व भएका स्याउका बेर्ना किसानलाई व्यावसायिक खेतीका लागि अनुदानमा उपलब्ध गराएको थियो । त्यहाँका किसानले पनि ५ सय देखि हजारौँ बोटसम्म खरिद गरेका छन् । उत्तरी गोरखामा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार २ वर्षभित्रै स्याउखेत भएका ठाउँसम्म गाडी पुग्छन् । ‘सडक निर्माणका लागि प्रमुख जोड पालिकाले गरेको छ । जनप्रतिनिधिको सबै ध्यान सडकमै छ,’ उनले भने, ‘केही वर्षपछि सजिलो होला तर अहिले नै के गर्ने भन्ने अन्योल भयो ।’ किसानहरूको फर्ममा ५ थरीसम्मका स्याउका बोट छन् । गाला र रेड डेलिसियस पाकिसकेका छन् । अरु स्याउ पाक्ने क्रममा रहेको किसानहरूले बताए । चुमनुब्री गाउँपालिकामा ६० परिवार हाराहारी व्यावसायिक किसान छन् । उनीहरुले उत्पादन गरेका अधिकांश स्याउ स्थानीय स्तरमै खपत हुन्छ । कतिपयले पर्यटकलाई बेच्छन् ।