संसदीय छानबिन विशेष समितिको सिफासिरमा लामिछानेबारे तर्कवितर्क

  • प्रकाशित मिति : September 17, 2024
  • नयाँ सवाल

काठमाडौँ । संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको प्रतिवेदनमा लामिछानेबारे तर्कवितर्क प्रस्तुत भएको छ ।

समितिले गोरखा मिडियाका बैङ्क खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न देखिएको निष्कर्षसहित अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

तर समितिको सिफासिरमा लामिछानेबारे तर्क वितर्क गरिएको छ । समितिका सदस्य शिशिर खनालले रास्वपाका सभापति एवं गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई समितिले सफाइ दिएको बताए । तर समितिकै सदस्य एवं माओवादी नेता लेखनाथ दाहाल (राजन) ले लामिछानेसँगै कांग्रेस उपसभापति धनराज गुरुङका सन्दर्भमा पनि अनुसन्धान गर्न सिफारिस गरिएको बताए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले क्लिन चिट नपाएको बताए । उनले भने, “प्रतिवेदनका सबै विषय आइसकेका छैनन् । सरकारले कार्यान्वयन गर्न निर्देशन दिएको छैन । गोर्खा मिडिया सहकारीको पैसाले चलेको हो र रवि लामिछाने पनि संलग्न रहेकाले अनुसन्धान हुने कुरा प्रस्ट छ ।”

एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले सहकारी क्षेत्रको सुधारमा प्रतिवेदन महत्वपूर्ण हुने बताउँदै सहकारीको आर्थिक अपचलन गर्ने सबैलाई कारबाही हुने प्रस्ट पारे ।