वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छ : उपप्रधानमन्त्री सिंह

  • प्रकाशित मिति : September 26, 2024
  • नयाँ सवाल

चितवन : कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुत पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताए । अस्पतालले गर्ने कार्यहरु नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने संकल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु ।’

अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उपप्रधानएवं सहरी विकासमन्त्री सिंहले जानकारी दिए । उनले भने, ‘यो अस्पताल क्यान्सर रोगको उपचराका लागि विदेसिनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो । यसलाई अझै सशक्त बनाउन आवश्यक रहेको छ ।’ सो अवसरमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले यो अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताए । क्यान्सरको उपचारका लागि प्रथम विन्दुका रुपमा रहेका जनाउँदै उहाँले सवल र उत्कृष्ट उपचारले रोग निको हुने बताए । उनले भने, ‘अस्पतालले उत्कृष्ट सेवा बिस्तार र जनताले सहज उपचार पाउनुपर्छ ।’