धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!

  • प्रकाशित मिति : October 10, 2024
  • नयाँ सवाल

काठमाडौँ । विभिन्न स्थानबाट काठमाडौँ आउने यात्रु पाउन मुस्किल भएपछि वायुसेवा कम्पनीहरूले दसैँ टीकाको दिन (असोज २६ गते) सम्मका लागि भाडा घटाएका छन्। काठमाडौँ-धनगढीको भाडा १७ हजार रुपैयाँसम्म लिने गरेका उनीहरूले शुक्रबार धनगढीबाट काठमाडौँ आउन ६ हजार ५ सय मात्र भाडा लिने भएका हुन्।

त्यसो त बुद्ध एयर र श्री एयरलाइन्सले आजैदेखि धनगढीबाट काठमाडौँ ६ हजार ५ सय रुपैयाँमै यात्रु ल्याइरहेका छन्। यस्तै वायुसेवा कम्पनीहरूले दसैँको टीका अर्थात् शनिबारका लागि धनगढीबाट काठमाडौँ आउन ७ हजार ९ सय रुपैयाँ मात्र भाडा लिने भएका छन्। तर शनिबार नै काठमाडौँबाट धनगढी जान भने १६ हजार ७४५ रुपैयाँ भाडा लिनेछन्। फेरि भोलिपल्ट आइतबारका लागि भने यो भाडा घटाएर ७ हजार ९ सय रुपैयाँ राखिएको छ।

आइतबार भने धनगढीबाट काठमाडौँ आउन पनि ११ हजार ८६० रुपैयाँ भाडा लिइने कम्पनीहरूले जनाएका छन्। तर सोही रुटका लागि सोमबार १२ हजार ९५९ रुपैयाँ र मंगलबार ११ हजार १६० रुपैयाँ भाडा लिइने उल्लेख छ। यसैगरी शुक्रबार र शनिबार भैरहवाबाट काठमाडौँ आउन ४ हजार ५० रुपैयाँ भाडा लाग्ने छ। आइतबारलाई काठमाडौँबाट भैरहवा जान ५ हजार ४ सय रुपैयाँ भाडा तोकिएको छ।

त्यस्तै शुक्रबार पोखराबाट काठमाडौँ आउन २८ सय रुपैयाँ मात्रै लाग्ने छ। शनिबारका लागि भने ४ हजार ४ सय तथा आइतबार र सोमबारका लागि न्यूनतम भाडा ५ हजार ३ सय ४२ रुपैयाँ तोकिएको छ। शुक्रबारलाई विराटनगरबाट काठमाडौँको हवाई भाडा ४ हजार ५ सय, शनिबार ५ हजार ७ सय र आइतबार ९ हजार ६५० रुपैयाँ तोकिएका छन्।

दसैँको टीकाको भोलिपल्ट आइतबारदेखि काठमाडौँ आउन महँगो र काठमाडौँबाट बाहिर जान सस्तो हवाई भाडा लाग्ने देखिएको छ। दसैँका बेला यात्रु एकतर्फी मात्रै पाइने हुँदा भाडा धेरै तलमाथि हुने हवाई कम्पनीको भनाइ छ।