अमेरिका निर्वाचनः ३० राज्यको नतिजा आउँदा को अगाडि ?

  • प्रकाशित मिति : November 6, 2024
  • नयाँ सवाल

काठमाडौं । अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ । नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् । अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको अमेरिकी सञ्चार माध्यमहरूले लेखेका छन् । डेमोक्रेटिक पार्टीको राम्रो मानिएको ब्लू स्टेटमा ह्यारिसले जित हासिल गरेकी छन् । रिपब्लिकनको राम्रो मानिएको रेड स्टेटमा ट्रम्पले जितिरहेका छन् । निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने अमेरिकी सञ्चार माध्यमहरूले खबर लेखेका छन् । ती स्टेटमा दुई उम्मेदवारबीच मतान्तर निकै कम रहेको छ । यहाँ नतिजा जहाँ पनि जान सक्छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । बहुमतका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।

यदि चुनावी परिणाम दुवैको पक्षमा नआएको खण्डमा नतिजाको लागि सर्वोच्च अदालत पुग्नुपर्ने हुनसक्छ । यदि दुई उम्मेदवारको बीचमा मतान्तर निकै कम भएमा सर्वोच्च अदालतले अन्तिम फैसला दिनुपर्ने हुन्छ । चुनावसम्बन्धी धेरैजसो मुद्दाहरू सर्वोच्च अदालतसम्म पुग्दैनन् । तर निर्वाचनसम्बन्धी ठूलै बहस सर्वोच्चसम्म पुग्छ नै । सन् २००० मा भएको चुनावी विवाद सर्वोच्चसम्म पुगेको थियो । त्यो चुनावमा फ्लोरिडामा कुनै पनि एक पार्टीले स्पष्ट बहुमत ल्याउन सकेको थिएन । सर्वोच्चमा पुगेको उक्त विवादको फैसला रिपब्लिकन पार्टीको पक्षमा आएको थियो । राष्ट्रपति चुनावसँगै भइरहेको संसदीय चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता कायम गरिरहेको छ । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनेछन् ।  ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनेछिन् । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ ।